काठमाडौं, असोज १७ — रोमानियाको टेटेरानीस्थित एक तीनतले होटलमा भएको आगलागीमा दुई नेपाली युवतीको ज्यान गएको छ भने एक अर्की घाइते भएकी छन्।
जर्मनस्थित नेपाली दूतावासका अनुसार आगलागी सेप्टेम्बर २९ मा प्राहोभा नामक होटलमा भएको थियो, जुन रोमानियाको राजधानी बुखारेष्टदेखि करिब ६० किलोमिटर टाढा पर्छ।
आगलागीमा इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बु र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङको ज्यान गएको हो।
उनीहरूसँगै होटलमा कार्यरत इलामको चुलाचुली–३ की २२ वर्षीया सुमिना मगर भने घाइते भएकी छिन्। उनलाई अस्पताल भर्ना गरिएको थियो र बुधबार डिस्चार्ज गरिएको दूतावासले जनाएको छ।
सोनी लिम्बु एक वर्ष अघि र सुस्मिता तामाङ पाँच महिना अघि रोजगारीका लागि रोमानिया पुगेका थिए। उनीहरू बस्दै आएको सोही होटलमा आगो लागेको थियो।
स्थानीय कर्मचारीका अनुसार आगलागी बिहान ७ बजे सुरु भएको थियो। घटनाको समयमा उनीहरू कोठाभित्र थुनिएका थिए।
उक्त होटलले सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा केही समयअघि स्थानीय प्रशासनबाट एक लाख रोमानियन लेई जरिवाना तिर्नु परेको थियो र त्यसपछि होटल अस्थायी रूपमा बन्दसमेत गरिएको थियो।
नेपाली दूतावासका उपप्रमुख सागर फुयालले पीडित परिवार, रोजगारदाता र रोमानिया सरकारसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।