काठमाडौँ, असोज १७ — संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभुवन राजपथ र छोटो दूरीको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले बिहीबार साँझ सूचना जारी गर्दै असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुवै सडकमा रातिको समयमा सवारी चलाउन नपाइने जनाएको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनाअनुसार, कान्ति लोकपथ हुँदै काठमाडौँ जाने सवारीका लागि बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र
त्रिभुवन राजपथ अन्तर्गतको भैंसे–काठमाडौँ खण्डमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मकवानपुरसहितका जिल्लामा भारी वर्षा हुने सम्भावनासहितको सूचना जारी गरेपछि संभावित पहिरो, दुर्घटना र मानवीय क्षति रोक्न रात्रिकालीन यात्रा रोकिएको प्रशासनले स्पष्ट पारेको छ।
यात्रु, सवारी चालक र सम्बन्धित निकायलाई उक्त अवधिमा वैकल्पिक व्यवस्था मिलाउन तथा अत्यावश्यक यात्राका लागि सम्भव भएसम्म दिनको समयमा यात्रा गर्न अनुरोध गरिएको छ।