काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहा पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।
सिंहमाथि सांसद विकास कोषको रकम दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ। अख्तियार स्रोतका अनुसार उनले कोषबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नै खातामा स्थानान्तरण गरेको प्रमाण भेटिएको छ।
पूर्वगृहराज्यमन्त्री समेत रहेका सिंह यसअघि पनि भ्रष्टाचार आरोपमा पक्राउ परेर तारेखमा छुटेका थिए। यसपटक भने अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारीका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ।
सिंह महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभामा निर्वाचित सांसद हुन्। अख्तियारले १२ जेठमा उनको घरमा छापा मार्दै विभिन्न कागजात र सामग्री नियन्त्रणमा लिएको थियो।
त्यस क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए।
छापा मार्ने क्रममा अनुसन्धान टोलीले विभिन्न विकास योजनासम्बन्धी कागजात, रकम प्रवाहका विवरण र मोबाइल उपकरणहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको थियो।
यसअघि २० जेठमा सिंहलाई अख्तियारले काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरेको थियो। तर, त्यसबेला उनी अदालतमा उपस्थित भएपछि तारेखमा रिहा भएका थिए।
अख्तियारले अबको अनुसन्धानपछि सिंहविरुद्ध सांसद विकास कोषको दुरुपयोग र आर्थिक अनियमिततासम्बन्धी नयाँ मुद्दा विशेष अदालत बबरमहलमा दर्ता गरेको छ ।
सिंहसहित १६ जनामाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

