काठमाडौं । एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपाल आज उपाधिका लागि सामोआसँग भिड्दैछ। यसअघि नै आइसिसी टी–२० विश्वकपमा प्रवेश पाइसकेको नेपालले अब च्याम्पियन बन्न सामोआलाई पराजित गर्नुपर्नेछ। खेल ओमानको इमारात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ।
नेपाल र सामोआबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको यो खेलले समूहको शीर्ष स्थान सुनिश्चित गर्नेछ। अहिले सुपर सिक्सको अंकतालिकामा नेपाल आठ अङ्कसहित शीर्ष स्थानमा छ भने घरेलु टिम ओमान छ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।
नेपालले यसअघि खेलेका सबै खेल जित्दै अपराजित यात्रा कायम गरेको छ। एक दिनअघि घरेलु टिम ओमानलाई आठ रनले हराएपछि कप्तान रोहित पौडेलले टिमको ध्यान अब ट्रफीमा केन्द्रित रहेको बताए। “हामीले जुन मेहनत गरेका छौँ, त्यसअनुसार नतिजा पनि पाएका छौँ,” उनले भने, “अब हाम्रो लक्ष्य उपाधि जितेर विश्वकपको तयारीलाई अझ सशक्त बनाउने हो।”
अन्तिम दिन आज अर्को खेलमा ओमान र जापान आमनेसामने हुनेछन्। यदि नेपालले सामोआसँग हार बेहोरे र ओमानले जित निकाल्यो भने, उपाधिको निर्णय रनरेटको आधारमा हुनेछ।
सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने १०औँ संस्करणको टी–२० विश्वकपका लागि नेपालले यो छनोट चरणमै उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक उपस्थितिको तयारी गरिरहेको छ।

