सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध थप पाँच रिट निवेदन दर्ता भएका छन् । यससँगै रिटहरूको संख्या १६ पुगेको छ । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्री नियुक्ति बदर, संसद् विघटन बदर र पुनःस्थापना मागसहितका रिटहरू संवैधानिक इजलासमा सुनुवाइ हुनेछन् ।
रिटहरूको सुनुवाइ यही कात्तिक १२ गतेका लागि तोकिएको छ ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्चमा भएको आगजनी, ढुङ्गामुढा र तोडफोडका कारण केही समय अदालतको नियमित काम रोकिएको थियो । असोज २८ गतेदेखि पुनः रिट दर्ता र सुनुवाइ खुलेपछि विघटनविरुद्धका रिटहरू दर्ता भएका हुन् ।
रिट पेस गर्नेहरूमा अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खडकबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाललगायत छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गत असोज २६ गते बसेको पूर्ण बैठकले रिट दर्ता र सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो ।

