काठमाडौँ, कात्तिक ३ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबै नेपालीलाई आह्वान गर्नुभएको छ ।
तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ लगायतका पर्वहरूको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले कठिन परिस्थितिमा पनि एकताबद्ध रहन सक्ने हाम्रो मौलिक संस्कृतिको प्रशंसा गर्दै भन्नुभएको छ, “कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔंँ ।”
प्रधानमन्त्री कार्कीले स्थिर सरकार निर्माणको लक्ष्यका साथ आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले निर्वाचनका लागि आवश्यक राजनीतिक संवाद र सुरक्षाको अवस्था सन्तोषजनक रूपमा अघि बढिरहेको पनि उल्लेख गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, “फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।”
भदौको “महान् जेनजी आन्दोलन” ले देशमा परिवर्तनको नयाँ यात्राको सुरुवात गराएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकार समावेशी, पारदर्शी र उत्तरदायी शासनप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार, जेनजी आन्दोलनले चाहेको सुशासन र विकासको आधारशीला निर्माण भइसकेको छ ।
दीपावलीको उज्यालोसँगै आउने यी पर्वहरू जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयका रूपमा यी पर्वहरू मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

