काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अस्थिरता यथावत् रहिरहे आफू पुनः प्रधानमन्त्री बन्ने सम्भावना बढ्ने दाबी गरेका छन्।
आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले हालको सरकारको असक्षमता र अराजकताप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताए। उनले भने, “देशमा यस्तै अस्थिरता र अव्यवस्था चलिरह्यो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ। जनताले यो अराजकता किन सहने?”
ओलीका अनुसार वर्तमान नेतृत्वले देशका समस्या समाधान गर्न असफल बन्दै गएको छ, जसका कारण जनताले वैकल्पिक नेतृत्वको खोजी थालेका छन्। उनले जनताले फेरि आफ्नो नेतृत्वमा भरोसा गर्न सक्ने विश्वास व्यक्त गरे।
छलफलमा सहभागी सम्पादकहरूलाई सम्बोधन गर्दै ओलीले भने, “अबको अवस्था यस्तो छ, समाधानका लागि तपाईंहरू आफैंले पनि मलाई बोलाउनुपर्ने परिस्थिति आउन सक्छ।”
राजनीतिक वृत्तमा ओलीको यो अभिव्यक्तिलाई आगामी सत्ता समीकरण र राजनीतिक गतिशीलतासँग जोडेर हेरिएको छ।

