भक्तपुर, कात्तिक २ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि भक्तपुरको आयोजनामा नेपाल सम्बत ११४६ को अवसरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ। सो अवसरमा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाःको योगदानलाई स्मरण गर्दै विभिन्न गतिविधि सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।

नेपाल सम्बत ११४६ यहि कछलाथ्व पारु (२०७२ कात्तिक ५) बुधबारदेखि सुरु हुँदैछ। यस सम्बतको शुभारम्भ नेपाली जनताको ऋणमोचन गरी सामाजिक न्याय, समानता र स्वतन्त्रताको सन्देश दिने उद्देश्यले शंखधर साख्वाले ११४५ वर्षअघि गरेका कार्यको स्मरणमा मनाइन्छ।
प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रम अन्तर्गत, प्रधानमन्त्री सुशीला कार्कीले मध्यपुर थिमि स्थित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। साथै, नेपाल सम्बतको अध्ययन, प्रचार–प्रसार तथा अनुसन्धानमा योगदान दिने संस्कृतिविद् छत्रबहादुर कायस्थ तथा अन्तर्राष्ट्रियस्तरमा सम्बत प्रचारमा सक्रिय नेपाः पासा पुचः अमेरिकाय्लाई विशेष सम्मान गरिने पनि प्रतिष्ठानले जनाएको छ।
नेपाल सम्बतको प्रयोगलाई राष्ट्रिय स्तरमा स्थापित गर्न ४६ वर्षअघिदेखि सुरु भएको अभियानले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको प्रतिष्ठानको दाबी छ। शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिनु, नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिनु, सम्बतमा आधारित हुलाक टिकट प्रकाशन, सञ्चारमाध्यममा सम्बतको प्रयोग, विद्यालय पाठ्यपुस्तकमा शंखधरबारे समावेश गरिनु जस्ता उपलब्धि उल्लेखनीय छन्।
साथै, स्पाइरोजिक्स इन्टरनेशनलको सहकार्यमा “नेपाल सम्बत एप्प” विकास गरी देश–विदेशमा रहेका नेपालीहरूलाई सम्बत प्रयोगमा सहज बनाइएको छ। उक्त एपमार्फत नेपाल सम्बतको तिथिमिति हेर्न सकिने सुविधा उपलब्ध छ।
नेपाल सरकारले नेपाल सम्बत ११४४ देखि सरकारी कागजातहरूमा सम्बत प्रयोग गर्न अनुमति दिएको निर्णयलाई प्रतिष्ठानले ऐतिहासिक उपलब्धि मानेको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र नेपाल प्रहरीले व्यापक रुपमा सम्बतको प्रयोग गरिरहेको समेत अध्ययनबाट देखिएको छ।
प्रतिष्ठानले अब नेपाल सम्बतलाई नेपाली नोटमा उल्लेख गर्न, शंखधर साख्वाःको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्न, र विदेशस्थित नेपाली राजदूतावासहरूमा “नेपाल डेको” रूपमा सम्बत मनाउन माग अघि सारेको छ। तीनै तहका सरकारहरूसँग सम्बत प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण राजनीतिक दल, बागमती प्रदेश सभाका सदस्य, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिएको छ।
नेपाल सम्बत ११४६ लाई राष्ट्रिय भावना सँग जोड्दै थप व्यापक प्रयोगमा ल्याउने उद्देश्यका साथ प्रतिष्ठानले आफ्नो अभियानलाई अघि बढाएको जनाएको छ।

