जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन पुगेका उनले मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा घोषणा गरेका हुन्।
सोनलले शनिबार नै आफ्नो राजीनामा प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा पेश गरेका हुन् ।
गत असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनल विश्वासको मत लिने समयसम्म आइपुग्दा मतको अंकगणितमा भएको फेरब्दलका कारण महिना दिन नपुग्दै राजीनामा दिन पुगेका हुन्।
मधेस प्रदेशसभामा एक सय सात सदस्य छन् र सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ। वर्तमान सत्ता गठबन्धनमा लोसपा ८, जसपा नेपाल १८, जनमत १३, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ सिटसहित छन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित थिइन्।
त्यसैगरी, माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले सदनमा विश्वासको मत दिन असन्तुष्टि जनाएपछि सोनलले मत पाउने सुनिश्चित नभएको देखेर राजीनामा दिनु परेको हो।
सोनललाई मधेस प्रदेशका प्रदेशप्रमुखले संविधानको धारा १६८ उपधारा (२) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।
सोनलद्वारा शनिबार दिईएको राजीनामा प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन् ।
प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा २०८२ कात्तिक २२ गते स्वीकृत गरिएको छ।”
विज्ञप्तिमा प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले भनेका छन्, संविधानको धारा १६९ उपधारा (३) अनुसार अर्को व्यवस्था नभएसम्म हालको मन्त्रिपरिषद्ले नै प्रदेशको कार्यभार सञ्चालन गर्ने छ।

