काठमाडौं । राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालय, बिजुलीबजारमा छापा मारेको छ।
सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, आर्थिक अपचलनको अनुसन्धानका क्रममा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि प्रभु बैंकमा पनि छापा मारिएको हो । छापामा केही महत्वपूर्ण फाइल र कागजात नियन्त्रणमा लिइएका छन् र थप अनुसन्धान सुरु गरिएको छ।
राष्ट्र बैंकको सहकार्यमा सुरु भएको छानबिनले प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा द्वारा दायर गरिएको जाहेरीको आधारमा काम गरिरहेको छ। उक्त जाहेरीमा ९८ करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ ।
सरकारी वकिल कार्यालयले गत वर्ष नै जिल्ला प्रहरी परिसरलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। तर प्रगति नहुँदा यस मुद्दामा सीआईबीले प्रत्यक्ष कारबाही गरेको हो।

