काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा संसदीय समितिले सरकारलाई चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आगामी निर्वाचनको तयारीबारे गृहमन्त्री ओमप्रकाश अर्यालसँग जानकारी लिएपछि यस्तो निर्देशन दिएको हो।
समिति सभापति तथा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले निर्वाचनका क्रममा सुरक्षा संयन्त्रको मनोबल उच्च बनाउनुपर्ने बताउँदै जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार संकलन गर्न र हतियार लुट्नेहरूको खोजी–कारबाही तीव्र बनाउन निर्देशन दिए।
शेर्पाले हालै कारागारबाट फरार भएका कैदीबन्दीलाई पुनः कारागारमा ल्याई मुलुकमा भयरहित वातावरण सुनिश्चित गर्न सरकार र गृहमन्त्रालयलाई आवश्यक कदम चाल्न आग्रह गरे।

