काठमाडौँ — आगामी माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगको कान्तिपथस्थित कार्यालयमा भएको संवादमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू तथा राष्ट्रिय मान्यता प्राप्त र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी भएका थिए।
आयोगका सचिव माहादेव पन्थका अनुसार निर्वाचनका प्राविधिक पक्षबारे दलहरूसँग परामर्शपछि औपचारिक निर्वाचन कार्यक्रम सार्वजनिक गरिनेछ।
कानुनी व्यवस्थाअनुसार सभाको सदस्यको पदावधि सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने भएकाले माघ ११ गते मतदान हुने भएको हो। राष्ट्रियसभाका १९ सदस्यमध्ये १८ पदमा चुनाव हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन्।
निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा प्रदेशभित्रका स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहनेछन्। मतदानमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ तोकिएको छ।

