काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मुलुक परिवर्तनको केन्द्रमा युवा पुस्ताको चाहना स्पष्ट देखिएको बताएकी छन्। अस्ट्रेलिया–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले देशले मागिरहेको संवैधानिक जिम्मेवारी, सुशासन र भ्रष्टाचारविरुद्धको दृढ अभियानलाई सरकार निरन्तर अगाडि बढाइरहेको दोहोर्याइन्।
“यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो,” प्रधानमन्त्री कार्कीले भनिन्, “मेराे सरकार यही लक्ष्य पूरा गर्न प्रतिबद्ध छ र आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी निरन्तर जारी छ।”
समारोहमा उनले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई दशकौँदेखि सुदृढ बनाउँदै ल्याएको पारस्परिक सम्मान, सहकार्य र साझा लोकतान्त्रिक मूल्यको प्रशंसा गरिन्। अस्ट्रेलियाबाट प्राप्त विकास सहयोग, सुशासन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, ग्रामीण विकासदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा पुगेको योगदानलाई उनले ‘महत्त्वपूर्ण र मूल्यवान’ भन्दै कृतज्ञता व्यक्त गरिन्।
अस्ट्रेलियामा अध्ययनरत तथा बसोबास गर्ने नेपालीहरूको भूमिकाबारे बोल्दै प्रधानमन्त्रीले भनिन्, “अस्ट्रेलियामा रहेका करिब दुई लाख नेपाली हाम्रो सम्बन्धका जीवन्त सेतु हुन्। उनीहरूको योगदानले दुवै मुलुकबीच आत्मीयता र विश्वास झन् गहिरो बनेको छ।”
पर्यटन, प्रविधि, नवीकरणीय ऊर्जा तथा लगानीका क्षेत्रमा अस्ट्रेलियासँगको सहकार्य विस्तार भइरहेकामा उनले सन्तोष व्यक्त गरिन्। “नेपाल २०२६ मा एलडीसी श्रेणीबाट स्तरोन्नति हुने लक्ष्यतर्फ द्रुत गतिमा अघि बढिरहेको छ,” उनले भनिन्, “यस यात्रामा अस्ट्रेलियाबाट प्राप्त निरन्तर समर्थनलाई हामी उच्च मूल्यांकन गर्छौँ।”
कार्यक्रममा नेपालस्थित अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनको कार्यकाल समापन हुँदै गरेको सन्दर्भमा प्रधानमन्त्रीले उनको योगदानको प्रशंसा गर्दै आगामी जिम्मेवारी सफल हुन शुभकामना पनि दिइन्। “नेपाल–अस्ट्रेलिया मित्रता पुस्तौँ–पुस्तासम्म अझ प्रगाढ बन्दै जाओस्,” उनले भनिन्।

