मुस्ताङ — घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव ५ किलोमिटर लामो चक्रपथ सडक निर्माण ६ वर्षपछि अन्तिम चरणमा पुगेको छ। विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग सम्झौता गरिएको यो सडक परियोजना सुरूआती समयसीमाभन्दा करिब पाँच वर्ष ढिलो सम्पन्न हुने अनुमान गरिएको हो।
गण्डकी प्रदेशको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत सदरमुकाम जोमसोमबाट ठिनी, ढुम्बा, छैरो, चिमाङ हुँदै मार्फासम्म जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालयले परियोजना कार्यान्वयनमा ल्याएको थियो। कालीगण्डकी नदीपारिका दूरदराज बस्तीसम्म यातायात पहुँच पुर्याउने लक्ष्यसहित ५ किलोमिटर खण्ड कालोपत्र र बाँकी ५ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भइरहेको सूचना अधिकारी इन्जिनियर घनश्याम रोकामगरले जानकारी दिए।
निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण परियोजना पटक–पटक म्याद थपिएको थियो। २०७७ माघमै काम सकिनुपर्ने भए पनि कम्पनीले कोरोना महामारी, प्रतिकूल मौसम र हिमपातलाई कारण देखाउँदै सात पटकसम्म म्याद थपेको कार्यालयका अधिकारीहरूको भनाइ छ। परियोजनाको कुल लागत २४ करोड ४५ लाख ७४ हजार रहेको छ।
हालसम्म सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत पुगेको छ। ढुम्बातालसम्म पाँच किलोमिटर कालोपत्र सडक तयार भएको छ भने ढुम्बा–छैरो–चिमाङ खण्डमा चट्टान काटेर पाँच मिटर चौडा ग्राभेल सडकसहित नाली निर्माण पूरा भएको छ। जोखिमयुक्त स्थानमा बार लगाउने, नाली सफा गर्ने र ट्राफिक सङ्केत जडान गर्ने अन्तिम चरणका काम जारी छन्।
सडक विस्तारसँगै ठिनी, ढुम्बा, छैरो र चिमाङका बस्ती गाउँ सडक सञ्जालसँग जोडिएका छन्। यसले स्थानीय किसानले उत्पादन गर्ने स्याउ, अन्नबाली, तरकारी र फलफूल ढुवानी गर्न सहज भएको छ।

