काठमाडौं, २२ मंसिर २०८२ ।
नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य ‘एकता सन्देश सभा’ गर्ने भएको छ। बागमती, सम्पर्क समन्वय तथा विशेष प्रदेशको संयुक्त आयोजनामा हुने सभाका लागि तयारीहरू तीव्रगतिमा अघि बढेको बताइएको छ।
पार्टीका संयोजक कामरेड पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक कामरेड माधव कुमार नेपाल सहितका शीर्ष केन्द्रीय नेताहरू उपस्थित रहने सो कार्यक्रमलाई सफल बनाउन आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालयको बैठकले विस्तृत योजना पारित गरेको छ।
बैठकले कार्यक्रमलाई ऐतिहासिक र जनसहभागितापूर्ण बनाउन व्यापक रूपमा कार्यकर्ता परिचालन गर्ने, जनस्तरमा प्रचार–प्रसार तीव्र बनाउने तथा विभिन्न संगठनहरूबीच समन्वय मजबूत गर्ने निर्णय गरेको छ।
पार्टीका अनुसार एकता सुदृढीकरण, संगठन विस्तार र आगामी राजनीतिक दिशाबारे स्पष्ट सन्देश दिने उद्देश्यले सभा आयोजना गरिएको हो।सबै संरचना र कमिटीलाई सक्रिय भूमिका निभाउन आह्वान गर्दै बैठकले—“एकता सन्देश सभालाई सफल बनाउन सबै तयारीमा जुटौँ”—भनेको छ।

