काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन्। आइतवार नियुक्तिपत्र बुझेलगत्तै उनी सञ्चारग्रामस्थित काउन्सिल कार्यालय पुगेका थिए।
सरकारले सोमबार आचार्यलाई काउन्सिलको रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो।
पदभार ग्रहण समारोहमा बोल्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमार्फत आमसञ्चारमाध्यमलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे। आफू चाहेर होइन, समयको मागअनुसार जिम्मेवारी सम्हाल्न आएको भन्दै उनले काउन्सिलभित्र रहेका संस्थागत समस्याको समाधान र संस्थागत तथा आर्थिक भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने बताए।
उनले भने, “म चाहेर यो पदमा आएको होइन। नागरिक सरकारले विषम परिस्थितिमा काउन्सिलको नेतृत्व गर्न अनुरोध गरेपछि जिम्मेवारी स्वीकारेको हुँ। अब काउन्सिललाई पारदर्शी बनाउँदै संस्थागत समस्या समाधान गर्नु मेरो पहिलो दायित्व हो।”
वरिष्ठ अधिवक्ता समेत रहेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम, र विद्यावारिधि (PhD) हासिल गरेका छन्।

