काठमाडौँ । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ। विश्वशान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित आगामी वैशाखको तेस्रो हप्तामा म्याराथन गर्ने तयारी भइरहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ।
म्याराथनमा १० किलोमिटर र ५ किलोमिटर दूरीका दौड समावेश गरिनेछ।
यसअघि आइतबार नेपाली राजदूतावास, थाइल्याण्डको पहलमा सरोकारवाला संघ–संस्थासँग छलफल कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड, पिपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली तथा थाइल्याण्डमा विविध पेशा–व्यवसाय सञ्चालन गरिरहेका नेपाली उद्यमीहरू सहभागी थिए। साथै म्याराथन सञ्चालनमा संलग्न थाई नागरिकहरू पनि उपस्थित थिए।
कार्यक्रम सफल बनाउन थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा, थाइल्याण्डमा रहेका नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधि समावेश गरी आयोजक समिति गठन गरिएको दूतावासले जनाएको छ।

