काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका छन्। बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बराईलीलाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जनाबाट वैदेशिक रोजगारीका लागि युके लैजाने प्रलोभन देखाई ५२ लाख रुपैयाँ लिएका थिए। लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका बराइलीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने नाममा ठगीका घटना बढ्दै गएको उल्लेख गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ

