काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्।
उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा हुने प्रक्रिया पूरा गरेपछि लामिछाने हिजो साँझ रुपन्देही जिल्ला कारागारबाट मुक्त भएका हुन्। आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका थिए।
लामिछाने काठमाडौंबाट हवाईमार्ग हुँदै चितवनको भरतपुर पुगेका थिए। खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण हुन नसकेपछि उनी भरतपुरबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका हुन् ।
तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि जिल्ला अदालतमा आवश्यक प्रक्रिया पूरा गरिएको हो। जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि कागजात पहिल्यै तयारी अवस्थामा राखिएकाले लामिछानेको रिहा प्रक्रिया छिट्टै सम्पन्न भएको हो।
थुनामुक्त गर्ने आदेशको रास्वपाद्वारा स्वागत, लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने उल्लेख गरेका छन्।
विज्ञप्तिमा अर्यालले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता तथा न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, “उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ। कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनेछन्।”

