काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टी एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त सभा बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय समिति तथा विशेष प्रदेश कमिटीको संयुक्त आयोजनामा भइरहेको हो।
सभामा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार सभामार्फत पार्टी एकता, वर्तमान राजनीतिक परिस्थिति, जनताको अपेक्षा तथा आगामी कार्यदिशाबारे स्पष्ट सन्देश प्रवाह गरिनेछ। देशभरबाट नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको सभालाई पार्टीको एकता र संगठन मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सभास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कार्यक्रम शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

