काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १९ सिटमध्ये १८ सिटमा निर्वाचन हुन लागेको हो।
कार्यकाल सकिन लागेका एक सदस्यको नियुक्ति भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेको छ।
निर्वाचन आयोगले निर्वाचनका लागि पुस १९ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको थियो। मंगलबार मतदाता नामावलीमा कुनै दावी–विरोध परे नपरेको यकिन गरेपछि आयोगले आज अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ।
यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।
आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ सदस्यको निर्वाचनका लागि आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता र मतभारसमेत सार्वजनिक गरिसकेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

