काठमाडौँ । नेपाल सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यकाल २० दिन थप गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बिहिबार आयोगको म्याद थप्ने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको म्याद थप्ने निर्णय भएको जानकारी दिएका हुन् ।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
सुरुमा आयोगलाई तीन महिनाको समय दिइएको भए पनि प्रतिवेदन तयारीको काम पूरा नभएकाले गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक थप गरिएको म्याद बिहिबार समाप्त हुँदै थियो । आयोगको काम पूरा नभएकोले पुन गृह मन्त्रालायको प्रस्तावमा २० दिन म्याद थप गरिएको हो ।
त्यसैगरी, बिहिबारको बैठकले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताका रूपमा तोक्ने निर्णयसमेत गरेको जानकारी दिइएको छ। यस अघि सरकारका प्रवक्ता रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले राजीनामा दिएर स्वयम् फागुन २१ गते हुने प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ललितपुर-२ बाट उमेदवार भएपछि अर्याललाई सरकारको प्रवक्ता समेत तोकिएको हो ।

