काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गरेको छ। पार्टीले पुनको उम्मेदवारीलाई सघाउने औपचारिक निर्णय गरेको जानकारी उज्यालो नेपालका महासचिव धर्म चौधरीले दिए।
म्याग्दी निर्वाचन क्षेत्रमा उज्यालो नेपालले आफ्ना तर्फबाट कुनै पनि उम्मेदवार नउठाएकाले उम्मेदवारी फिर्ता गर्ने विषय नै नआएको स्पष्ट पार्दै स्वतन्त्र उमेदवार पुनलाई समर्थन गर्ने, पुनको पक्षमा मत माग्ने चौधरीले बताए ।
उज्यालो नेपाल पार्टीका महासचिव चौधरीले पार्टीप्रति आस्था राख्ने नेता, कार्यकर्ता तथा समर्थकहरूलाई स्वतन्त्र उम्मेदवार महावीर पुनले पाउने चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
आज (माघ ९ गते) मात्र निर्वाचन कार्यालयद्वारा उमेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले उमेदवारी दर्ताको दिन (माघ ६ गते) मात्र मन्त्री पदबाट राजीनामा दिई म्याग्दी पुगेर स्वतन्त्र उमेदवारी दिएका हुन् । उनी पनि निर्वाचनमा उमेदवार हुँदैछन् भन्ने सुईंकोसम्म थिएन ।

