काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज देशभर श्रद्धा र आस्थाका साथ मनाइँदैछ। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरे विद्या, बुद्धि र सृजनात्मक चेतना बढ्ने विश्वास छ।
आज देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। विशेषगरी साना बालबालिकालाई अक्षरारम्भ गराउने, विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार र पत्रकारले आफ्ना अध्ययन–साधन र कला उपकरणको पूजा गर्ने चलन छ। वसन्त ऋतुको आगमन, दिन लम्बिँदै जाने र ज्ञानको उज्यालो फैलिने प्रतीकका रूपमा यो पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।
धार्मिक मान्यताअनुसार आजको दिन विद्यारम्भ, अक्षरारम्भ, नाक–कान छेड्ने जस्ता कार्य शुभ मानिन्छन्। यद्यपि यस वर्ष शुक्र अस्त भएकाले विवाह, व्रतबन्धजस्ता केही शुभकर्म भने नगर्ने जनाइएको छ।
यसै अवसरमा हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षद्वारा परम्परागत वसन्त श्रवण गर्ने चलनअनुसार आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा वसन्त श्रवण गर्ने कार्यक्रम तय गरिएको छ।

