काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ।
आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
तराईका थोरै स्थानमा हुस्सु रहने अनुमान छ भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

