काठमाण्डौ । झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण माघ २४ गतेदेखि सञ्चालन हुने भएको छ। बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिता फागुन ४ गतेसम्म चल्ने छ ।
यस संस्करणमा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। नेपालबाट आयोजक झापा–११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल (पोखरा) सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय टोलीतर्फ रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) ले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसपटक पुरस्कार राशि वृद्धि गरिएको छ। विजेता टोलीले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर (MVP)’ लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

