काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार मंगलबार बिहान १० बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७९ एक्यूआई पुगेको छ।
मापन अनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा आठौँ स्थानमा परेको छ। यसअघि गएको आइतबार काठमाडौँ सातौँ स्थानमा सूचीकृत भएको थियो।
आज विश्वकै सबैभन्दा प्रदूषित सहर बंगलादेशको राजधानी ढाका रहेको छ, जहाँ वायु प्रदूषणको स्तर ३०२ एक्यूआई मापन गरिएको छ। त्यसैगरी भारतको राजधानी नयाँ दिल्लीमा २७४ एक्यूआई र पाकिस्तानको लाहोरमा २५९ एक्यूआई रहेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५० सम्मको एक्यूआईलाई सामान्य मानिए पनि त्यसभन्दा माथिको स्तर मानव स्वास्थ्यका लागि अस्वस्थकर ठहरिन्छ।
एक्यूआई ५१ देखि १०० सम्मलाई ‘सावधानी’ स्तर मानिन्छ भने १०१ देखि १५० सम्मले श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ। १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थकर, २०१ देखि ३०० सम्मलाई अति अस्वस्थकर मानिन्छ। त्यस्तै ३०१ देखि ४०० सम्म खतरनाक र ४०१ देखि ४५० सम्मको स्तरलाई अति खतरनाक अवस्था मानिन्छ।
मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको निरन्तर सञ्चालन तथा तीव्र विकास निर्माण गतिविधिका कारण हाल वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन्। औद्योगिक धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण तथा छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि नेपालमा वायु प्रदूषण बढ्ने गरेको छ।

