काठमाण्डौ । काठमाडौँमा होली पर्वलाई लक्षित गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्ति–सुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न अनुरोध गरेको छ।
कार्यालयद्वारा जारी सूचनामा सार्वजनिक स्थलमा भीडभाड, मेला–महोत्सव तथा मदिरा बिक्री–वितरण नगर्न आग्रह गरिएको छ।
सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आफ्नै घरपरिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन कुनै बाधा नपर्ने स्पष्ट पारिएको छ। तर खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने तथा मदिरा सेवन र वितरण गर्ने कार्य नगर्न भनिएको छ।
प्रशासनले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारका क्रममा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अंकित टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ। होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचारसंहिता विपरीत गतिविधि नगर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी, कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने प्रशासनले चेतावनी दिएको छ।

