काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्न सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले पर्यटन विकासका लागि नयाँ पर्यटन नीति आवश्यक रहेको र सरकारले नयाँ पर्यटन नीति ल्याउने तयारी गरिरहेको बताए ।

छिट्टै नयाँ पर्यटन नीति आउने बताउँदै मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन नेपाल पर्यटन बोर्डलाई निर्देशन दिए ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश हो । यही विविधताबीच एकता, सहिष्णुता र सद्भाव संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो,’ मन्त्री पाण्डेले भने, ‘नेपालको आफ्नै मौलिक ‘प्रडक्ट’ छ । यसलाई अन्तर्राष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।’ मन्त्री पान्डेले भने ।
पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट मात्रै नेपालको उचित आर्थिक विकास हुनसक्ने बताए । राज्यमन्त्री चौधरीले भने- ‘पर्यटनको बिकासका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।’
पर्यटन बोर्डका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पूर्वाधार विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा बोर्डले जोड दिनुपर्ने बताए भने बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी बोकेको पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किंदै गएको र पर्यटन क्षेत्रको आगामी दिन थप सुनौलो हुने धारणा राखे ।
कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ को ११ महिनामा नेपालमा साढे ११ लाख पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए ।
कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’ विमोचन गरियो भने वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद कार्यक्रमका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

