काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । सुर्खेतमा पत्रकारहरुसित कुरा गर्दै लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन् । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र भनेर भ्रम फैलाइरहेका छन्,’ लेखकले भने, ‘त्यो भ्रममा पूर्वराजाले हौसिएर हिड्न आवश्यक छैन ।’
जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजतन्त्रलाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास नगर्न लेखकले आग्रह गरे । गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतयास् आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उही देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदार छ, कि जनताले फालेको राजतन्त्रका नायक अर्थात् पूर्वराजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’ लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कन लागेको विषयमा सुरक्षा व्यवस्थाबारे सोधिएको प्रश्नमा गृहमन्त्री लेखकले नागरिकको जीउधनको सुरक्षा राज्यको दायित्व भएकोले सुरक्षा व्यवस्था कडा पारिएको टपटेन खबरसित बताए ।

