काठमाडौं । नेपाल सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गरेको छ । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल केही दिन मात्र बाँकी रहेकोले नयाँ गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।
गभर्नर छनौट समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री डा. विश्व पौडेल सदस्य रहेका छन् । समितिले गभर्नर चयनको प्रक्रिया अगाडि बढाउने छ । हालका गभर्नर अधिकारीको चैत २४ गते कार्यकाल सकिँदै छ । समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामा एक जना डेपुटी गभर्नरको नाम सिफारिस गर्ने छ भने अरु दुई जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्नेछ ।
समितिले सिफारिस गरेका नामबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ । गभर्नरका लागि डेपुटी गभर्नरहरू निलम ढुंगाना र बमबहादुर मिश्रमध्ये एक जना समितिको सिफारिसमा पर्ने छन् । उनीहरूले यसअघि लबिङ सुरु गरिसकेका छन् । यस्तै राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ दाबेदारका रूपमा नाम आएको छ । बैंकरहरू ज्ञानेन्द्र ढुंगाना र अशोक शेरचन पनि गभर्नरको दौडमा लबिङ गरिरहेका छन् । यस्तै पूर्वसचिव रामेश्वर खनाल र लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट समेत गभर्नरका आकांक्षी रहेको बताइएको छ ।

