नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. संग्रौलाले राजसंस्था पुनर्स्थापना लगायतका मागहरु राख्दै हिजो काठमाडौँमा भएका हिंसात्मक प्रदर्शनमा एक जना पत्रकार सहित दुइ जनाको निधन भएको प्रति गहिरो दुख व्यक्त गरेकी छन्। नेपालको संविधान २०७२ ले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सुनिश्चित गरेको छ। तर जनधनको ठूलो क्षति हुने गरी अराजक व्यवहार गर्ने अधिकार कसैलाई छैन। निजी घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई कुनै पनि हालतमा सही ठह-याउन सकिदैन। यस्तो क्रियाकलापमा संलग्न जो कोहीको पहिचान गरी कानूनको दायराभित्र ल्याउन उनले माग गरेकी छन्। सरकारको ‘पर्फर्मेन्स’ का बारेमा असन्तुष्टि रहेको यथार्थ हो। गठबन्धन सरकारलाई अरु बढी जवाफदेही बन्दै जनताको समस्या समाधान गर्न अरु बढी क्रियाशील बन्न हामीले भन्दै आएका छौं उनले बताइन्।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे थप छलफल र बहस चलाउन सकिन्छ। लोकतन्त्रले सबैको लागि स्पेस प्रदान गर्दछ। तर व्यवस्था नै परिवर्तन गरेर मुलुकलाई अस्थिरताको अर्को चक्रमा धकेल्ने कुरा स्वीकार्य हुन सक्दैन। त्यसैले हिंसा र अराजकता छोडेर शान्तिपूर्ण रुपमा बहस र छलफल चलाउन उनले सबै पक्षलाई अपिल गरेकीछन् ।
Previous Articleतीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते
Next Article ढलेको सपना एकदिन जरुर उठ्नेछ

