प्रहरीले अधिवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा रिहा गरेको छ। राजावादी समूहले शुक्रबार राजधानीको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाललाई प्रहरीले घटनामा उनको संलग्नता नदेखिएको निष्कर्ष निकालेर हाजिरी जमानीमारिहा गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल राज बोहराले घटना भएको दिन नेपाल परीक्षामा रहेको पुष्टि भएकाले उनलाई रिहा गरिएको जानकारी दिए। बोहराका अनुसार प्रहरी अनुसन्धानमा नेपालको हिंसात्मक घटनासँग कुनै सम्बन्ध नभएको स्पष्ट भएको छ।
स्वागत नेपाललाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रवक्ताको रूपमा प्रचार गरिँदै आएको छ। उनी शुक्रबार नै पक्राउ परेका थिए। तर, प्रहरीको अनुसन्धानपछि उनको संलग्नता नभएको ठहरिएसँगै रिहाइको निर्णय भएको हो।

