काठमाडौं, साउन ८ –
महँगी, भ्रष्टाचार, कुशासन, बेथिति तथा अन्याय–अत्याचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित क्रान्तिकारी युवा संघ नेपालले काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली सम्पन्न गरेको छ। राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा भएको र्यालीको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ले कुपण्डोलमा गर्नुभएको थियो।
उक्त र्याली कुपण्डोलबाट सुरु भई जावलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कालिमाटी, स्वयम्भू, बनस्थली, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै सिफलमा पुगी समापन गरिएको थियो।
सिफलमा आयोजित सभालाई पार्टी स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, ९ नं. ब्युरो इन्चार्ज दिनेश शर्मा ‘सागर’ तथा क्रान्तिकारी युवाका संयोजक सूर्य तिमल्सिनाले सम्बोधन गर्नुभयो। कार्यक्रमको सञ्चालन युवाका कार्यालय सदस्य असल वाइवाले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले अहिलेको गणतन्त्रलाई ‘बुर्जुवा गणतन्त्र’को संज्ञा दिँदै जनगणतन्त्र स्थापनाका लागि संघर्ष अपरिहार्य भएको बताउनुभयो। “देशको समृद्धि अहिलेको संरचनाबाट सम्भव छैन,” उहाँले भन्नुभयो, “प्रचण्ड र बाबुरामले क्रान्तिकारी एजेन्डाबाट विचलन हुँदा जनगणतन्त्र सम्भव भएन।”
उहाँले सत्तारुढ नेताहरू अझै नेपाली कांग्रेसको एजेन्डामा रमाइरहेको टिप्पणी गर्दै प्रचण्ड–बाबुरामप्रति गद्दारीको आरोप लगाउनुभयो। उहाँका अनुसार लोकतान्त्रिक गणतन्त्र भनेको जनताको चाहना होइन, सत्ताको सौदाबाजी मात्र हो।
कार्यक्रममा सहभागी युवाहरूले सरकारप्रतिको असन्तुष्टि र परिवर्तनको चाहना नाराबाजीमार्फत प्रकट गरेका थिए।

