काठमाडौं, साउन ८ — नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंको बानेश्वरस्थित कार्की बैंक्वेटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन्। दिउँसो ३ बजे हुने यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तमा विशेष अर्थका साथ हेरिएको छ।
गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा सहभागी हुँदै पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत दिएकी थिइन्। त्यसयता उनको गतिविधि र अभिव्यक्तिहरू राजनीतिक रूपमा चर्चा र विश्लेषणको विषय बनेका छन्।
तर, नेकपा (एमाले) को हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उनको सक्रिय राजनीति प्रवेशमा प्रश्न उठेको छ। केही विश्लेषकहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सम्भावित चुनौती देखेर भण्डारीलाई रोक्ने प्रयास गरिएको दाबी गरेका छन्।
एमालेको संस्थापन पक्षले भने राष्ट्रको सर्वोच्च पदमा रहिसकेकी व्यक्तिले पुनः सक्रिय पार्टी राजनीतिमा फर्कनु नैतिक रूपमा उपयुक्त नहुने जिकिर गर्दै आएको छ। यस्तो संवेदनशील पृष्ठभूमिमा आयोजना हुन लागेको पत्रकार सम्मेलनबाट भण्डारीले के घोषणा गर्छिन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पूर्वराष्ट्रपति भण्डारीको आजको अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउन सक्छ।

