काठमाण्डौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) लमजुङमा सम्मानित भएकी छन्। भण्डारीको गृह जिल्ला लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा बिहीबार आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान गरेको हो।
साम्बालाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । गुरुङले साम्बा जस्तै खेलाडी उत्पादन गर्न, खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको बताए ।
पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताईन् । सम्मानले अझै राम्रो र निरन्तर खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ। गाउँपालिकाले भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई यश अघि नै ‘साम्बा’ चोक नामकरण गरिसकेको छ।
नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढेकी छन्। भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने छिन्।

