काठमाडौं, साउन १५
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली मौलिक पर्वहरूको संरक्षणमा जोड दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै अध्यक्ष ओलीले लेख्नुभएको छ, “आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए।”
उहाँले कृषिमा आधारित नेपाली जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र परम्परागत संस्कारहरूको संरक्षणमा साउन १५ जस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “यी पर्वहरूले समाजमा आपसी सद्भाव, सामूहिकता र संस्कारको चेतना फैलाउँछन्,” उहाँको भनाइ छ।
नेपालमा हरेक वर्ष साउन १५ को दिन विशेष रूपमा खीर पकाएर खाने परम्परा रहिआएको छ। यो पर्वलाई रोपाइँपछि श्रमको विश्राम र सामूहिक उत्सवको रूपमा लिइन्छ।
अध्यक्ष ओलीले युवा पुस्तालाई यस्ता मौलिक र सांस्कृतिक परम्पराप्रति जागरुक रहन र यसको जगेर्ना गर्न आग्रह गर्दै, “हाम्रो परम्परा हाम्रो पहिचान हो,” भन्ने सन्देशसमेत दिनुभएको छ।

