काठमाण्डौ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो ।
गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल बर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।
गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट-घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् ।
ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने भएको छ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनको लागि पहल भइरहेको प्रहरीले बताएको छ ।
सिन्धुलीको यो सडकखण्डमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

