काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्र ६८,११० नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले बढी हो।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार व्यक्तिगत रुपमा ११,७७२, मेनपावर कम्पनीमार्फत ३१,८३०, पुनः श्रम स्वीकृतिमार्फत २३,६४४ र जी-टु-जी प्रक्रियामार्फत ८६४ जनाले स्वीकृति लिएका छन्। स्वीकृतिमा ५८,९४८ पुरुष र ९,१६२ महिला रहेका छन्। गत वर्ष साउन महिनामा ५९,५७५ जनाले स्वीकृति लिएका थिए।
श्रम स्वीकृतिसँगै साउनमा मात्र वैदेशिक रोजगारीसँग सम्बन्धित ५८० उजुरी दर्ता भएका छन्। तीमध्ये ७४ वटा मिलापत्रमा टुंगिएका छन् भने २६ वटा मुद्दा अदालतमा पुगेका छन्। यसले वैदेशिक रोजगारीको प्रक्रियामा अझै पारदर्शिता र सुरक्षाको आवश्यकता रहेको देखाएको छ।
साउन महिनामै ३९ नेपालीको शव विदेशबाट नेपाल फर्काइएको विभागले जनाएको छ। गत वर्ष कुल ४८१ नेपालीको मृत्यु विदेशमा भएको तथ्यांक छ। यसले वैदेशिक रोजगारीमा कामदारको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको देखिन्छ।
यता, नेपालमै काम गर्नका लागि ९८ विदेशीले श्रम स्वीकृति लिएका छन् भने ९४ जनाले स्वीकृति नवीकरण गराएका छन्।
