टपटेनखबर | २०८२ कार्तिक ५, काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जेन–जी आन्दोलनका घाइतेहरूसँग करिब ४ घण्टा लामो छलफल गरेकी छन्। साढे १० बजे सुरु भएको बैठक दिउँसो साढे २ बजेतिर सकिएको हो।
रुपिन खड्काको नेतृत्वमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको १८ सदस्यीय प्रतिनिधि समूहले सरकारलाई भ्रष्टाचार र दमनका घटनामा कठोर कदम चाल्न माग गरेका थिए।
खड्काले प्रधानमन्त्रीलाई सोधे — “जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई पक्राउ गर्न केले रोकिरहेको छ ? नियम, कानुन कि राजनीतिक इच्छाशक्ति ?”
घाइतेहरूको प्रधानमन्त्री कार्कीलाई चेतावनी
प्रतिनिधिहरूले भ्रष्टाचारविरुद्ध ठोस कारबाही नभए नयाँ आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। उनीहरूले केही आरोपीहरू अकुत सम्पत्ति लुकाउँदै भाग्न खोजेको भन्दै चिन्ता व्यक्त गरे।
घाईतेहरूलाई सरकारको प्रतिक्रिया
छलफलमा प्रधानमन्त्री कार्कीका साथमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित थिए।
प्रधानमन्त्री कार्कीले भनिन् —“हामी जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। कानुनी प्रक्रियाभित्रै रहेर भ्रष्टाचारविरुद्ध काम भइरहेछ। तपाईँहरू बोल्न नछोड्नोस्, हामी दबाबका बीच पनि काम गर्दैछौँ।”
गृहमन्त्री अर्यालले भने केही आरोपीहरू भाग्न नसक्ने अवस्थाले “नेपालमै छु” भन्दै देखा पर्न थालेको जानकारी दिए।
यो छलफलले आन्दोलनरत पक्ष र सरकारले संवादमार्फत समाधान खोज्ने संकेत दिएको छ। तर घाइतेहरूको स्वरमा अझै पनि विश्वासभन्दा बढी निराशा र आक्रोश झल्किएको देखिन्छ।
अब प्रश्न के हो भने — कार्की सरकारले उक्त दबाबलाई राजनीतिक अवसर बनाउँछ कि संविधानिक सीमाभित्रै सीमित रहन्छ !

