काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी एकताको अभियानले देशको राजनीतिक वृत्तमा नयाँ हलचल ल्याएको बताएका छन्। बुधबार मातृभूमि राष्ट्रिय जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने कार्यक्रममा बोल्दै उनले आफूहरूले सुरु गरेको एकता अभियानले नेकपा (एमाले)का कतिपय नेताहरूलाई असहज बनाएको टिप्पणी गरे।
नेपालका अनुसार हालको एकता केवल दलहरूको मिलन मात्र नभई वाम आन्दोलनलाई नयाँ दिशामा डोर्याउने ऐतिहासिक कदम हो। उनले भने, “हाम्रो एकता अभियानले कतिपय नेताहरूको सातो गएको छ, तर त्यसमा डराउने केही छैन। बरु उनीहरूले हामीलाई धन्यवाद दिनु पर्छ, किनभने हामीले बिग्रिएको वाम आन्दोलनलाई सुधार्ने जिम्मा लिएका छौँ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले थपे, “गालीगलौज गरेर होइन, धन्यवाद प्रस्ताव पास गरेर घाउमा मल्हम लगाउनुहोस्।”पूर्वप्रधानमन्त्री नेपालले मातृभूमि जागरण अभियानको समायोजनले एकतालाई अझ बलियो बनाएको उल्लेख गर्दै यो प्रक्रियाले वाम शक्तिहरूलाई एक केन्द्रमा ल्याउने विश्वास व्यक्त गरे। उनका अनुसार, एकता अझै जारी छ र यसले देशको वाम राजनीति नयाँ दिशा र आशाको सन्देश दिनेछ।

