काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान औपचारिक रूपमा समायोजन गरिएको छ। बुधबार राजधानीमा आयोजित भव्य कार्यक्रमका बीच उक्त अभियानलाई पार्टीमा समायोजन गरिएको घोषणा गरिएको हो।
कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले भीम रावललाई फुलमाला र अबिरले स्वागत गर्दै पार्टीमा हार्दिक स्वागत गरेका थिए। उनीहरूले रावलको अभियान समायोजनले पार्टी एकता र राष्ट्रिय जागरणमा नयाँ ऊर्जा थपिएको बताएका छन्।
संयोजक प्रचण्डले सम्बोधन गर्दै भने, “रावलज्यूको मातृभूमि जागरण अभियानले देशभर देशभक्ति, समाजवाद र एकताको सन्देश फैलाएको छ। अब हामी एउटै मंचमा एउटै झण्डामुनि अगाडि बढ्नेछौं।” सह–संयोजक माधव नेपालले पनि रावलको आगमनले नेकपाको संगठनात्मक बल अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
यस अवसरमा भीम रावलले भने, “हाम्रो लक्ष्य एउटै हो—राष्ट्रको समृद्धि र समाजवादको स्थापना। आजको यो एकता देश र जनताको पक्षमा ऐतिहासिक कदम हो।” उनले पार्टीभित्र विचार, नीति र कार्यक्रमको एकताबाट मात्र समाज रूपान्तरण सम्भव हुने बताए।
कार्यक्रममा अन्य शीर्ष नेताहरू, केन्द्रीय समिति सदस्यहरू, विभिन्न प्रदेश प्रतिनिधिहरू र मातृभूमि जागरण अभियानका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। एकतासँगै पार्टीले आगामी दिनमा देशव्यापी जनजागरण अभियान सुरु गर्ने घोषणा समेत गरेको छ।

