काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणको कडा भर्त्सना गरेका छन्।
नेता खनालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत डेल्टा फोर्सले करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि ‘नाङ्गो र क्रुर’ सैन्य हमला गरेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन तथा गम्भीर अपराधपूर्ण कार्यको संज्ञा दिएका छन्।
विज्ञप्तिमा अमेरिकी आक्रमणका क्रममा भेनेजुएलाका कैयौँ निर्दोष नागरिक र सैनिकको ज्यान गएको तथा महत्वपूर्ण सैन्य संरचनाहरू ध्वस्त पारिएको उल्लेख गरिएको छ। साथै, भेनेजुएलाका निर्वाचित तथा वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको दाबी गर्दै खनालले यसलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको गम्भीर प्रहार र अत्यन्तै लज्जास्पद कार्य भनेका छन्।
नेता खनालले अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार कब्जा र लुट गर्ने उद्देश्यले लामो समयदेखि षड्यन्त्र गर्दै आएको आरोप समेत लगाएका छन्। मदुरो सरकार अमेरिकाको साम्राज्यवादी हितको मार्गमा अवरोध बनेकाले ‘ड्रग ट्राफिकिङ’ जस्तो झुटो र नक्कली बहाना बनाएर आक्रमण गरिएको उनको दाबी छ।
खनालले विश्वका शान्तिप्रेमी राष्ट्र, लोकतान्त्रिक शक्ति तथा अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकी आक्रमण र हस्तक्षेपविरुद्ध स्पष्ट आवाज उठाउन आह्वान गर्दै भेनेजुएलाको स्वतन्त्रता, सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।

