काठमाडौँ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) काठमाडौँ शाखाले नयाँ वर्ष १ जनवरी २०२६ को स्वागत गर्दै विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ। मिति २०८२/९/१७ गते सम्पन्न उक्त कार्यक्रम विनेसाम काठमाडौँ जिल्ला शाखाका अध्यक्ष तथा खोरिया प्रवर्तक जनार्दन अधिकारी ‘धड्कन’को अध्यक्षता र वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा ‘जिताली’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा. थापा जितालीले प्रस्तुत कविताहरू मार्मिक, समसामयिक र सशक्त रहेको उल्लेख गर्दै गोष्ठीलाई गरिमामय र उत्कृष्ट भएको टिप्पणी गर्नुभयो। उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै “कहाँ छन् बुद्धका आँखा” शीर्षकको कविता वाचन गर्नुभयो।
विशिष्ट अतिथि विनेसाम नेपालका अध्यक्ष मणिराज सिंह, डा. देवी पन्थी, कलानिधि दाहाल, डा. ठाकुर मोहन श्रेष्ठ, हरि मञ्जुश्री, तोयानाथ सुवेदीलगायतले विश्व नेपाली साहित्य महासंघ काठमाडौँ शाखा समितिको सक्रियता र साहित्यिक योगदानको प्रशंसा गर्दै नयाँ वर्ष २०२६ को शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा समसामयिक विषयवस्तुका कविता, मुक्तक, चारु, खोरिया, सुसेलीलगायत नयाँ लघुत्तम विधा तथा छन्दका कविताहरू वाचन गरिएका थिए।
कवि पवन बुढाथोकीको सफल उद्घोषणबाट सुरु भएको कार्यक्रममा लक्ष्मीप्रसाद मिश्र, कल्पना मरासिनी, गीत खनाल, लक्ष्मी खड्का, इन्दिरा ढकाल, दुर्गा भवानी भट्ट, रसज्ञ छहरा, सङ्गीता खरेल, पार्वती भट्ट, घनश्याम पौडेल, गङ्गा आचार्य, बिनु बाबा घिमिरे, सिता पन्थी, टेकबहादुर लौडारी, सुशीला पोखरेल, चन्दावती अधिकारी, बी.के. मुखिया, चित्रा पौडेल, कृष्णप्रसाद पौडेल, राजेश मानन्धर, वीरबहादुर लोहनी, शर्मिला तिमल्सिना, नीता गुरुङ (असम), सूचिता काफ्ले, कल्पना भट्टराईलगायत ३५ जना साहित्यकारहरूले रचना वाचन गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै खोरिया प्रवर्तक तथा विनेसाम काठमाडौँ जिल्ला अध्यक्ष जनार्दन अधिकारी ‘धड्कन’ले खोरिया कविताको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार खोरिया कविता ८/८/८/५ गरी जम्मा २९ अक्षरमा लेखिन्छ, जुन गद्य कविताको स्वरूप हो। तर ३/२/३, ३/२/३, ३/२/३ को सूत्रमा लेखिएमा यसलाई खोरिया लोकछन्द मानिन्छ। २९ अक्षरको खोरिया आफैंमा पूर्ण भए पनि शीर्षक दिएर धेरै खोरिया जोडेर लामो कविताजस्तै पनि लेख्न सकिने उहाँको भनाइ थियो।
अध्यक्ष अधिकारीले खोरिया र गद्य कविता वाचन गर्दै प्रमुख अतिथि डा. जितालीलगायत सम्पूर्ण उपस्थित साहित्यकारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। धन्यवाद ज्ञापनसँगै गोष्ठीको औपचारिक समापन गरिएको थियो।

