काठमाडौं । ओखलढुंगामा किराना पसल सञ्चालन गर्दै आएका एक दम्पतीको निर्मम हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। १५ पुसमा भएको हत्यामा संलग्न अभियोगमा ओखलढुंगाको चिसाङ्ग गाउँपालिकाका चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, चिसाङ्ग–४ का ४० वर्षीय विनोद राई, ४० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दार्जे भनिने अशोक भुजेल रहेका छन्।
उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनीहरूले १५ पुसमा चिशंखुगढी गाउँपालिका–६ भदौर गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाथा थापा मगरको हत्या गरेका हुन् । अभियुक्तहरूले कोदालो र अन्य धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या गरेको प्रहरीले बताएको छ।
हत्यापछि शवलाई गोठमा लगेर स्याउलाले छोपी पसल र कोठामा रहेको नगद एक लाख रुपैयाँ, दुई तोला सुनका गरगहना र करिब छ तोला काँचो सुन लुटेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार यही समूहले २६ असोजको राति ओखलढुंगाकै सिद्धीचरण नगरपालिका–४ चार्खुमा खेतीपाती गर्दै आएकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवाल (कार्की)को पनि हत्या गरेको पाइएको प्रहरीले बताएको छ। बन्चरो प्रहार गरी हत्या गरेर नगद र सुनका गरगहना लुटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।
प्रहरीले चार्खु घटनामा प्रयोग भएको बन्चरो, रत्नकुमारीबाट लुटिएको सुन गालेर राखिएको अवस्थामा ५.८० ग्राम, दाउसहितको खुकुरी, दम्पती हत्यापछि लुटिएको रिचार्ज कार्ड, दुई थान भरुवा बन्दुक, दम्पती हत्यामा प्रयोग गरिएको कोदालो तथा चार थान मोबाइल बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अघि बढाइएको प्रहरीले जनाएको छ

