काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा मदुरोलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको नेकपाको निष्कर्ष छ।
नेकपा नेता गणेशमान पुन ‘रश्मि’
गणेशमान पुनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामी राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं। भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैं तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ।’
कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको निष्कर्ष निकालेको छ। यस्ता कार्यहरूले विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा सिर्जना गर्ने विज्ञप्तिमा बताईइएको छ।
नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रपति मदुरोलाई कब्जामा लिनु लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य रहेको उल्लेख गर्दै तत्काल त्यस्ता गतिविधि रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।