काठमाडौँ। ग्लोबल आइएमई बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा १५ वर्ष सेवा अवधि पूरा गरेका १७५ जना कर्मचारीलाई सम्मान गरेको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा दीर्घकालीन योगदान दिने कर्मचारीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सञ्चालकहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गर्दै कर्मचारीहरूलाई सम्मान गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मर्जर तथा व्यवसाय विस्तारसँगै बैंकले गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सेवालाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लगिएको बताए। उनले १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले १९ वर्षकै अवधिमा अधिकांश वित्तीय सूचकमा आफूलाई अग्रणी बनाएको उल्लेख गर्दै कर्मचारीहरूलाई अझ लगनशील भएर कर्तव्यपथमा लाग्न आग्रह गरे।
यसैगरी, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नवीनतम् र ग्राहकमैत्री सेवा प्रवाहमा जोड दिँदै डिजिटल युगअनुकूल समयसापेक्ष बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंक अघि बढिरहेको बताए।
नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरूमा ग्राहक सेवा र सन्तुष्टिलाई केन्द्रमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
Previous Articleराष्ट्रिय सभामा नेपाली कांग्रेसका उम्मेदवार को–को ?
Next Article राजधानीमा दिनदहाडै लुटियो पौने तीन लाख !

