काठमाडौँ। सिनामंगलबाट गोंगबु जाँदै गरेको मयूर यातायातको बसमा सवार एक यात्रुको २ लाख ७५ हजार रुपैयाँसहितको ब्याग लुटिएको छ। घटनापछि प्रहरीले तीब्र रुपमा अनुसन्धान गर्दै चार जनालाई पक्राउ गरेको छ।
बाग्लुङ नगरपालिका–४ का स्थायी निवासी (हाल काठमाडौँको मित्रनगरमा डेरा गरी बस्दै आएका) ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका थिए। बस मित्रपार्क पुग्दानपुग्दै उनले बोकेको कालो रङको साइड ब्याग हरायो। ब्यागभित्र २ लाख ७५ हजार रुपैयाँ नगद रहेको प्रहरीले जनाएको छ।
घटना लगत्तै शर्माले पुस २३ गते बुधबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए। जाहेरी परे लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले सक्रियता देखाउँदै चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकाश लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर रहेका छन्।
प्रहरीका अनुसार जाहेरी दर्ता भएको ६ घण्टाभित्रै उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

