काठमाडौँ। नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले औपचारिक रूपमा उम्मेदवारहरूको टुंगो लगाउँदै चुनावी तयारीलाई तीव्र बनाएको हो।
कांग्रेसका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा राष्ट्रियसभाको उम्मेदवार बनेका छन्। मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्णलाई मैदानमा उतारिएको छ।
नेपाली कांग्रेसले बागमति प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई आफ्नो उम्मेदवारका रुपमा अघि सारेको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मात्र उम्मेदवारहरूको मनोनयन प्रक्रिया सम्पन्न भएको छ।
कांग्रेसले प्रदेशगत सन्तुलन र राजनीतिक समीकरणलाई ध्यानमा राख्दै उम्मेदवार चयन गरिएको जनाएको छ।
राष्ट्रियसभामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिसहित कांग्रेस चुनावी प्रतिस्पर्धामा उत्रिएको छ।
उमेद्वारको छनौटपछी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उमेद्वार छनौटमा पार्टीले पर्याप्त ध्यान दिन नसकेको प्रतिकृया दिएका छन् । नेकपा एमालेसित तालमेल गरेको नेपाली कांग्रेसले ९ उमेद्वार राष्ट्रिय सभाका लागि उमेद्वार बनाएको हो । सहमति अनुसार नेकपा (एमाले)ले ८ र उपेन्द्र यादव नेतृत्वको समाजवादीले एक जना उमेद्वार महन्थ ठाकुरलाई अघि सारेको छ ।

