मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन् । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ ।
‘प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ । यो भन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको छ । सो व्यवस्थाअनुसार साढे ७ वर्ष कैद माग गरिएको छ,’ कटुवालले भने ।
विद्युतीय कारोबार सम्बन्धी प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको यो तेस्रो मुद्दा हो । प्रधानमन्त्रीको लगानी सम्बन्धी कागजात आफूले तयार नगरेको र कम्बोडियाबाट नै एकजना नेपाली नागरिकले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको प्रसाईंले बयान दिएका छन् । प्रसाईंलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने बहस बिहीबार उनको बयानपछि सुरु हुनेछ ।

